बायोचार के हो ?
बायोचार अधिक मात्रामा कार्बन भएको अत्यधिक तापक्रम (४००–८०० डिग्री सेल्सियस) र अक्सिजन रहित अवस्थामा जलेर बनेको एक किसिमको अंगार हो । बायोचार प्रविधिमा पातपतिंगर, वनमारा, घसेटा, जंगलमा खेर जाने अन्य सामग्री एउटा खाडलमा राखेर डढाइन्छ र पूरै खरानी नहुदै पानी हालेर निभाईन्छ । डढाएर तयार पारेको अंगारको डल्लोमा गोमूत्र मिसाइन्छ, त्यसपछि बन्छ बायोचार । यसको प्रयोगले माटोको भौतिक, रासायनिक, जैविक तथा पर्यावरणीय सुधार गर्छ ।
बायोचारले कसरी काम गर्छ ?
वानस्पतिक पदार्थको कोषमा रहेको तरल पदार्थ पोलेर खर्याएपछि त्यहाँ खाली प्वाल बाँकी रहन्छन् । छिप्पिएको घिरांैलाको जालोमा देखिएजस्तो ती असंख्य प्वालमा माटोभित्र रहेको पानीको कोष र अन्य पोषक तत्त्व भरिन्छन् । बायोचारका यस्ता कणवरिपरि बिरुवाका जरा फैलिन थाल्छन् र यिनै पोषकतत्त्व एवम् ओसिलो वातावरणले छिटो छिटो बढ्छन् । धेरै खडेरी र सुक्खा परेको बेला बायोचारयुक्त माटोमा बिरुवाले ओस र खाद्य तत्त्व पाइरहने हुनाले अन्यत्र भन्दा बिरुवा बाँच्ने सम्भावना बढी हुन्छ । जलवायु परिवर्तनको असरले यिनै समस्या बढाइरहेको सन्दर्भमा बायोचार कृषि क्षेत्रका लागि एउटा गतिलो अनुकुलन प्रविधि सावित हुन सक्छ । माटोको उर्वरापन जोगाउन र बिरुवाको छिटो वृद्धि र रोग नियन्त्रणका लागि पनि यो आवश्यक मानिन्छ । बहुपक्षीय उपयोगिताका कारण यसलाई कृषिको कालो सुन पनि भन्न थालिएको छ ।
जय कृषिवन 🙏🇳🇵💚
